Friday, June 15, 2012

किन आत्महत्या गरेकी जेसिका ? बालदीप राई प्रहरीको नियन्त्रणमा

नागरिक न्यौज़ ,किशोर नेपाल- कान्तिपुर शहरको गौरव मानिने धरहराको बाटोबाट सुन्धारातिर चियाउँदा जेसिकाको अनुहारले पछ्यायो विनितालाई। उसले सोची, 'आखिर आत्महत्या पनि एकप्रकारको महत्वाकांक्षा नै त हो। महत्वाकांक्षी मानिसले मात्रै गर्नसक्छ आत्महत्या।' विनिता सयौँ पटक मरिसकेकी थिई अभिनयमा। जेसिका एकैपटक मरी। जीवनलाई जसले बढी सुमसुम्याउँछ र जसले बढी माया गर्छ, त्यसैले गर्छ आत्महत्या। शरीर हो, आत्महत्याको कारण।

विनितालाई लाग्यो, आत्महत्या सजिलो कुरो होइन। तर, यो बहादुरीपूर्ण कुरो पनि होइन। आत्महत्या गर्ने मानिस सबै कायर हुँदैनन् भन्दैमा बहादुरहरूले आत्महत्या गर्दैनन् भन्ने पनि त होइन। आत्महत्या त बहादुरहरूले नै गर्छन्। कमसेकम कविहरू यसै भन्दै आएका छन्।
धरहराको टुप्पोमा एकछिन आँखा अड्याएपछि विनिता खिचापोखरीतिर लागी। यति चर्को घाम कहिल्यै लागेको थिएन रे कान्तिपुरमा। विनिताले थाहा पाएको कान्तिपुर पनि चिसो थियो, कुल। यस्तो गर्मी, उफ्। विनिताले सोची- गर्मी पनि आत्महत्याको कारण हुन सक्छ।

विनिता बिक्रीको पर्खाइमा घाममा डढिरहेका रंगिचंगी सामानहरूको रमिता हेर्दै अघि बढ्दै थिई। स्ट्रे थट्स लबालब भरिएको थियो मनमा। मानिसको खल्तीमा पैसा नै छैन। यस्तोमा पैसा नहुने मानिसले आत्महत्या नगरेर के गर्ने? अझ इज्जत धानेर हिँड्नुपर्ने मानिसले पैसाको अभावमा इज्जत नै धान्न नसक्दा आत्महत्याको विकल्प नै के छ र? विनिता फुटपाथमा राखिएका कपडा हेर्दै थिई। यी कपडा देखेर उसलाई लाग्यो- मानिसको नियति पनि यस्तै हो। दिनभरि घाममा सेकिनु र रातभरि चिसोमा कोचिनु।
जेसिका किन मरिहोली, त्यो पनि झुन्डिएर? पेसा एउटै भए पनि उसँग विनिताको दोस्ती थिएन। तै पनि, जेसिकाको बारेमा उसले थुप्रै कुरा सुनेकी थिई। जेसिका सिंगल मदर हो भन्ने हल्ला पनि सुनेकी थिई उसले। ऊ रंगशालामा फाइटको अभ्यास गर्न पनि जाने गर्थी। पछिल्लो समयमा अभिनय र फाइटका बीच बडो सामन्जस्य स्थापित हुन थालेको छ।

फाइटले अभिनयलाई विस्थापित गर्दै छ भने अभिनयले फाइटलाई। अभिनयमा संवेदनशील स्वभाव रुचाउने व्यक्तिले फाइट गर्र्ने र फाइटमा माहिर मानिसले अभिनय गर्ने विडम्बना पनि आत्महत्याको कारण हुन सक्छ।
विनितालाई लाग्यो- आत्महत्याका पछिल्तिर तीनटा कारण महत्वपूर्ण हुन्छन्। पहिलो कारण, ब्वाइफ्रेन्ड हुन् भने दोस्रो कारण फाइनान्स । तेस्रो कारण? तेस्रो कारण त असफलता नै हो। कला र अभियन क्षेत्रमा लागेका मानिसलाई आफू असफल हुने पो हो कि भन्ने डरले सधैँ सताइरहेको हुन्छ। उता हलिउड र बलिउडतिर अभिनय वा गायकीको एउटै आइटममा सफल भएका कतिपय व्यक्तिले आफू मरेर त्यो सफलतालाई कायम राख्ने गर्छन्। एकपटक सफल भएर मरियो भने पनि जीवनभर अमर होइन्छ भन्ने यस्तो विचार नेपालमा पसेको छ कि छैन? त्यो त विनितालाई थाहा छैन। तर, यो कान्तिपुरमा पनि त्यस्ता सपना देख्नेहरूको कमी चाहिँ छैन।

'असफलताले आत्तिएर आत्महत्या त म कहिल्यै गर्दिनँ,' विनिताले मनमनै भनी। ऊ प्रेममा असफल भए पनि करिअरमा भने सफल केटी हो। अभिनयप्रतिको कमिटमेन्ट विनिताको पुँजी पनि हो र लगानी पनि। अहिलेको सिनेमा रियल स्टेटको नियति भोगिरहेको छ। कतै चलेको छ। कतै
बन्द भएको छ। जहाँ चलेको छ, त्यहाँ चकाचक छ। जहाँ चलेको छैन, त्यहाँ निराशा र आत्महत्या छ।

विनिताले जेसिकालाई सम्भि्कई। उसको आँखाको अगाडि एउटा धमिलो तस्बिर देखापर्‍यो। त्यो तस्बिरमा जेसिका नमस्कारको मुद्रामा खडा थिई स्टेजमा। मर्ने बेला नै नभई मरेकी जेसिकाको अनुहार देखेर विनिता झस्किई। ऊ एकाएक चिच्याई, 'तिमीले किन आत्महत्या गरेकी जेसिका?'

बालदीप राई प्रहरीको नियन्त्रणमा

प्रोडक्सन कन्ट्रोलर बालदीप राईसंग जेसिकाको अन्तिम कल रेकर्ड देखिएकाले प्रहरीले अनुसन्धानका लागि बालदीपलाई नियन्त्रणमा लिएको छ । सम्पादक गैरेका अनुसार अन्तिम कल रेकर्ड उनीसंग भएको देखिएकाले आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो