Tuesday, January 5, 2016

फाल्गुनपछि लोडसेडिङ घट्ने - उर्जामन्त्री रायमाझी

उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र जनताले महसुस गर्ने गरी विद्युत् भार कटौती अन्त्य गर्न यो महिनाभित्रै ऊर्जा सङ्कट निवारण काल घोषणा गर्ने बताउनुभएको छ ।

आज राजधानीमा आयोजित अन्तक्र्रियामा उहाँले त्यसमा सकिन लागेका आयोजनालाई तीव्रताका साथ अघि बढाउने, आवश्यक इन्धन उपलब्ध गराउने, ठूला जलाशययुक्त आयोजना निर्माण योजनालाई अघि बढाउने, ट्रान्समिसन लाइन निर्माण र सौर्य ऊर्जा उत्पादनको योजना समेटिएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो– “२५० मेघावाट विद्युत् उत्पादन अन्तिम चरणमा छ । त्यसबाट हिउँदमा १०० मेघावाट उत्पादन हुन्छ । बिग्रेको आयोजना मर्मत हुँदा १०० मेघावटा थपिन्छ र ढल्केबर–मुजफरपुर प्रसारण लाइन बनेपछि १०० मेघावाट थपिन्छ ।

योसँगै सोलारमा जाँदा अर्को वर्षसम्म एक हजार २०० मेघावाट विद्युत् उत्पादन गर्न सकिन्छ । यसबाट अर्को वर्षसम्ममा जनताले महसुस गर्नसक्ने गरी विद्युत् भार कटौती अन्त्य गर्न सकिन्छ ।

उहाँले दुई वर्षभित्र जलविद्युत्बाट मात्रै विद्युत् भार कटौती अन्त्य गर्न ‘मास्टरप्लान’ बनिरहेको पनि जानकारी दिनुभयो ।

सरकारले बिहान बेलुका खाना पकाउने समयमा बिजुली दिँदा अत्यधिक हिटर प्रयोग हुँदा ट्रान्सफर्मर धेरै पड्किएको र पड्किएको ट्रान्सफर्मर दिनमा एउटाभन्दा बढी बनाउने प्रविधि नहुँदा समस्या परेको भन्दै मन्त्री रायमाझीले ट्रान्सफर्मर बनाउने काम भइरहेको र नयाँ खरिद प्रक्रियासमेत अघि बढाएको बताउनुभयो ।

उहाँले यो वर्षको मागसम्म विद्युत् भार कटौती अझै बढ्ने भन्दै फागुनपछि क्रमश विद्युत् भार कटौतीमा सुधार आउने स्पष्ट पार्नुभयो ।

ऊर्जामन्त्री रायमाझीले संस्थागत कालोबजारी नियन्त्रण गर्न सरकार लागिपरेकोे उल्लेख गर्नुभयो । रासस

0 comments:

Post a Comment