भक्तपुर, २२ जेठ । विद्यालय तथा उच्च माध्यमिक विद्यालय सञ्चालकहरुको संगठन प्याव्सन, एन. प्याव्सन, हिसानले उच्च माध्यमिक तहका छात्र र छात्रालाई मोटरसाइकल चढ्न र स्कर्ट लाउन प्रतिबन्ध लगाएका छन् । शिक्षा ग्रहण गर्ने उमेरका छात्रछात्रामा मोटरसाइकल चढ्ने तथा स्कर्ट कति छोटो लाउने भन्ने कुरामा बढी प्रतिस्पर्धा हुन थालेको भन्दै उनीहरुले यस्तो नियम बनाएका हुन् ।
मध्यपुर थिमी चार दोबाटोस्थित जया उच्च माविको सोमबार भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (एन. प्याव्सन) का मध्यमाञ्चल उपाध्यक्ष सूर्यबहादुर अधिकारीले उक्त जानकारी दिएका हुन् । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखको अध्यक्षमा काठमाडौं उपत्यकामा रहेका माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुको संगठनका पदाधिकारीहरुको भएको बैठकले यस्तो निर्णय गरिएको उनले बताए ।
उनका अनुसार उच्च माविमा छात्रहरुमा मोटरसाइकल चढ्ने र छात्राहरुलाई छोटो स्कट लाउने प्रतिस्पर्धा बढेर शिक्षामा विकृति निम्तिएकोले त्यसको निराकरण गर्न यस्तो कदम चालिएको हो । ‘दस जोड दुई पुगेपछि अभिभावकहरुले छोराछोरीले झन् बढी मेहनत गरेर पढोस् भन्ने चाहने तर विद्यार्थीहरु भने नयाँ फेशनमा भुल्ने गरेका छन्’, उनले भने, ‘त्यसैले विद्यार्थीहरुको शैक्षिक भविष्य सुनिश्चित गर्न छात्रलाई मोटरसाइकल र छात्रालाई स्कर्ट लाउन निषेध गरिएको हो ।’ उनले शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा कडाइका साथ कार्यान्वयन गर्नसमेत माग गरे ।
0 comments:
Post a Comment