अंग्रेजी नयाँ वर्ष जनवरी १ का दिन नेपाली पहिचान झल्काउने गरी तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ। अन्तर्राष्ट्रिय रूपमा नेपालीपन प्रवर्द्धन गर्न र देशभित्र पनि टोपी संस्कार विकास गर्न अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन लागिएको हो। नेपाली टोपी दिवस २०१४ जनवरी १ बाट संसारभर मनाउन थालिएको हो।
'नेपाली टोपी डे' नाममा सामाजिक सन्जाल फेसबुक र टि्वटरमार्फत यो दिवसलाई भव्यताका साथ सफल बनाउन आह्वान गरिएको छ। जनवरी १ मा अंग्रेजी पात्रोको चलन भएका देश र स्थानमा नयाँ वर्षको उत्सव हुने हुँदा त्यस अवसरमा विश्वभर रहेका नेपालीलाई टोपी लगाएर दिवस मनाउन आह्वान गरिएको छ।नेपाली टोपी लगाएर जनवरी १ लाई विशेष बनाउन ताइवानबाट डा. लेखनाथ पाण्डे र नेपालबाट शंकर बन्जाडेले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय टोपी दिवसमा सबैलाई आ–आफ्ना स्थानबाट टोपी लगाउन आग्रह गरिएको छ।
'नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रवर्द्धन भइरहेको अहिलेको अवस्थामा समग्र नेपालीको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'शताब्दीऔंदेखि प्रयोग भइरहेको नेपाली टोपी प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले अभियान थालनी गरिएको हो।' दिवसका अवसरमा टोपी लगाएका तस्बिर सामाजिक सन्जालमा अपलोड गर्नसमेत विज्ञप्तिमार्फत आह्वान गरिएको छ।नागरिक दैनिकबाट
0 comments:
Post a Comment