भक्तपुर, पुस १३ । सल्लाघारीस्थित सूर्यविनायक आयल स्टोरमा सोमबार वाणिज्य विभागले सिलबन्दी गरेको छ ।
पम्पबाट वितरण गरेको डिजेलले गाडी नचलेपछि डिजेलमा मिसावट भएको आशंकामा वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेसहितको टोलीले स्टोरको अनुगमन गरी सिलबन्दी गरेको हो ।
डिजेलमा पानीलगायत पदार्थ मिसावट गरेर बिक्री गरेको पाइएपछि वाणिज्य विभागले डिजेल बिक्री–वितरण गर्न रोक लगाउँदै पम्पमा सिलबन्दी गरेको हो ।
बिहान डिजेल वितरण गरेलगत्तै गाडी चल्न बन्द भएपछि डिजेलमा मिसावट भएको पत्ता लागेको थियो । आयल स्टोरले पाँचओटा गाडीमा डिजेल हालेलगत्तै कुनैपनि गाडी नचलेपछि चालकले डिजेल झिकेर हेर्दा धमिलो पानी जस्तो रहेको देखिएको बा३ख ६८३३ नम्बरको बसका चालक सुमन गोजाले बताए ।
उक्त पम्पमा डिजेल भरेका बा२ख ४१९८ नम्बरको बसका चालक पूर्णबहादुर बजगाइँले चारदिन लाइन बसेर डिजेल हालेलगत्तै बसको इन्जिन नै बिग्रेकाले पम्प सन्चालकले क्षतिपूर्ति दिनुपर्ने माग गरे ।
महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले उक्त पम्पमा आइतबार साँझ ४००० लिटर डिजेल आएको र सोमबार बिहान ८ बजे वितरण गर्दा मिसावट भएको पाइएपछि वाणिज्य विभागले परीक्षणका लागि डिजेलको नमुना लगेको जानकारी दिए ।
पम्प सन्चालक मधु प्रधानांगले भने आफूले डिजेलमा मिसावट नगरेको दाबी गरे । रासस
0 comments:
Post a Comment