Thursday, December 31, 2015

महतोको अस्पताल भर्ना, नाटक कि यथार्थ ?

काठमाडौँ, १५ पुस– स्वास्थ्य स्थिति सामान्य भए पनि आइसियु बेडमा बस्दै आएका सद्भावना अध्यक्ष महतोले गोल्डेन अस्पताल विराटनगरबाट  महतोले राति १२ बजे डिस्चार्ज मागेको लिएको अस्पताल प्रशासनले जनाएको छ।

‘राति हामीले क्याबिनमा सार्न खोजेपछि उहाँ आफैं जबरजस्ती डिस्चार्ज लिएर हिँड्नुभएको हो,’ अस्पताल प्रशासनका सनातन मण्डल भन्छन्, ‘उहाँको स्वास्थ्यस्थिति त्यहि बेला सामान्य थियो।’

त्यहाँबाट डिस्चार्ज लिएर महतो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गए। त्यहाँ पनि महतो आइसियुमै भर्ना भए। आइसियु बेडमा राख्नुपर्ने स्पष्ट कारण अस्पतालले खुलाउन सकेको छैन।

महतोको उपचारमा न्युरोसर्जन डा। सुदन ढकाल, हाडजोर्नी विशेषज्ञ यज्ञराज खरेल र फिजिसियन रमेश चौरसिया संलग्न थिए। डाक्टर खरेलले महतोको स्वास्थ्य अवस्था सामान्य रहेको सेतोपाटीलाई जानकारी दिएका छन्। ‘टाउको र घुँडामा चोट थियो सामान्य भइसकेको छ,’ खरेलले भने।

अवस्था सामान्य भैसकेका महतोलाई अस्पतालले वार्डमा सारेको छ। उनी पेइङ वार्डमा बसेका छन्। ‘उहाँ एकदमै सामान्य हुनुहुन्छ, अहिले केही समस्या छैन,’ बिपीका सूचना अधिकृत सुजेन्द्र तामाङले भने, ‘पेइङ वार्डको ४ नम्बर रूममा हुनुहुन्छ ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले पनि उनी जनरल वार्डमै रहेको बताए।

तर पार्टीले भने उनी अझै आइसियूमै रहेको र उनको अवस्था गम्भीर रहेको बताउँदै आएको छ। सद्भावना पार्टीका केन्द्रीय सचिव देवेन्द्र यादवका अनुसार महतो अहिले आइसियुमै छन्।

यादवले महतोको अवस्था आइसियुमै राख्ने खालको भएको दावी गरे। ‘उहाँको टाउकोमा सिरियस इन्जुरी छ, ब्लडप्रेसर कम छ, सुगर बढी छ,’ उनले भने, ‘डाक्टरको विशेष निगरानीमा हुनुहुन्छ।’

प्रतिष्ठानका सूचना शाखा प्रमुख तामाङले भने ‘टाउकोमा चोट लागेकै कारण अस्पतालमा उपचारको लागि बस्नुपर्ने अवस्था त छैन, अब्जर्भेसनको लागि राखिएको हुनसक्छ। ब्लड प्रेसर र सुगरको भने केही समस्या देखिएको छ।’

यसबिचमा सद्भावना पार्टीको नाममा सञ्चालनमा रहेको फेसबुकमा महतो सिकिस्त भएका तस्बिर पोष्ट गरिएका छन्। महतोका कार्यकर्ताले प्रतिष्ठानका सबै चिकित्सकलाई महतो गम्भीर रहेको भनेर भन्न दबाब दिएको अपुष्ट खबरसमेत बाहिर आएको छ। डिस्चार्ज भए पनि पैसा तिरेरै पेइङ वार्डमा बसिरहेको अस्पताल स्रोतले जनाएको छ ।

बुधबारसम्म आइपुग्दा महतोको स्वास्थ्यलाभका लागि प्रार्थना सभा भएको खबर आएका छन् । सप्तरीको राजविराजस्थित शिव मन्दिरमा उनको स्वास्थ्य सुधारको कामना गर्दै ‘मृत्युञ्जय’ पाठसहित पूजा लगाइएको छ । यी सबै प्रार्थना र पूजा चलिरहँदा महतोमा कुनै स्वास्थ्य समस्या नरहेको अस्पताल प्रशासनले जनाएको छ।
Source: setopati

0 comments:

Post a Comment