नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन धेरेकालागि अप्रत्याशीत लाग्यो । कोइराला अस्वस्थ भएको खबर नै नआई उहाँको निधनको खबर आउँदा अनौठो लाग्नु स्वभाविक पनि हो । बिरामी भएको व्यक्तिलाई अस्पताल नलैजानु भूल थियो भन्नेहरु पनि छन् । कोइरालाका निजी चिकित्सक डा. करवीरनाथ योगीलाई पनि यो बेला धेरैले प्रश्न उठाए । तर डा. योगीको भनाइमा कोइरालाको निधनमा शंका र अफवाहहरुले बढी ‘माइलेज’ लिएको भन्ने छ । डा. योगीसँग काठमाण्डुटेडका लागि ध्रुव रिजालले गर्नुभएको कुराकानीको संपादीत अंशः
सुशील कोइरालाको निधन पछि धेरै प्रश्नहरु जन्मिए । कतिपय प्रश्न चाहीँ तपाई तिर पनि तेर्सिएका छन् कसरी लिनुहुन्छ ?
ठूला मान्छेको निधन पछि यस्ता प्रश्न आउँछन् । स्वभाविक हो । धेरै कुरा त नबुझेका कारणले मानिसहरुले प्रश्न गरेका हुन् । कति कुरा चाहीँ मिडियाले बंग्याएर ठूलो बनाए । १०१ दशमलव पाँच डिग्रीको ज्वरोलाई १०५ डिग्री भनेर लेखिदिए । अनि १०५ डिग्रीको ज्वरो आएको मान्छेलाई अस्पताल किन लगेन ? भनेर प्रश्न गरे । निधारमा कुनै चोट थिएन । पशुपति आर्यघाटमा शरीर धुँदा पनि त्यो प्रष्ट भयो । अनि चोटलाई चन्दन लगाएर छोपियो भनेर शंका गरियो ।
उहाँले अन्तिम पटक मैले बुझे भनेको चाहीँ के हो ?
अचम्म त यही नेर त छ । राति सुशीलदाको अवस्था बिग्रन थाल्यो । त्यस्तो बेलामा एउटा चिकित्सकले गर्नु पर्ने जे काम थियो मैले त्यही गरेँ । मैले भने कि ‘हजुरलाई गाह्रो भयो, अब इन्जेक्सन दिन्छु । यसले सजिलो हुन्छ ।’ उहाँ त्यो बेला आफ्नो हात च्यापेर सुत्नु भएको थियो । मैले इन्जेक्सन दिने भएपछि च्यापेको हात झिकेर दिनु भयो । अनि मैले इन्जेक्सन लगाउनुको कारण फेरि भनेँ । अनि उहाँले ‘ए लल, मैले बुझेँ’ भन्नुभएको हो । यति सामान्य कुरालाई सनसनीपूर्ण बनाइयो ।
अस्पताल नलगेकै कारण उहाँको अप्रत्याशीत निधन भयो भन्ने कुरामा कति सत्यता छ ?
श्वासप्रश्वास सम्बन्धी रोगको म विशेषज्ञ हो । १५ वर्ष भयो यो क्षेत्रको मात्रै उपचार गरिरहेको । दमको रोग मात्रै होइन फोक्सोसम्बन्धी सबैजसो रोग सुशीलदालाई थियो । यस्तो रोग भएका बिरामी कतिबेला कोल्याप्स्ड हुन्छन् भन्नै सकिन्न । मैले नै ठीक छ अब घर जानु भनेर पठाएका कति बिरामी बाटोमै बित्छन् । कतिपय घर पुगेर बित्छन् । दमका बिरामीहरुले घरमै पनि अक्सिजन राखेका हुन्छन् । बाटोमा अक्सिजन बिना लैजाँदा पनि बित्छन् । सुशील दाको अवस्था सोमबार दिउँसोसम्म ठीकै थियो । थप उपचारका लागि एन्टिबायोटिकहरु चलाइरहेकै थियौं । तर राति एक्कासी अवस्था गम्भीर बन्यो ।
प्रश्न यहीँ त छ, अवस्था गम्भीर भएपछि किन अस्पताल लैजानु भएन ?
उहाँको अवस्था एक घण्टाको बीचमा गम्भीर भयो । त्यो बेला गर्नुपर्ने सबै उपचार गरियो । अस्पताल लैजान मैले १३ पटक फोन गरेको फोटै खिचेर राखेको छु । एम्बुलेन्स नभएकै कारण मात्रै ज्यान गयो भन्ने कुरामात्रै पनि होइन । बिरामीको अवस्था एक्कासी नाजुक हुन्छ । दमका रोगीहरुले आफ्नै थुक समेत निल्न सक्दैनन् । त्यस्तो बेला एक्कासी ज्यान सक्छ । उहाँको अवस्था पनि एक्कासी बिग्रीयो । अहिले के भनिँदैछ भने घरमै गाडी थियो, किन अस्पताल नलगेको ? यदि मैले अक्सिजन बिनाको गाडीमा सुशीलदालाई लिएर गएको भए र उहाँको बाटोमै ज्यान गएको भए, मलाई यो देशमा बाँच्नै दिँदैन थिए । १३ पटक फोन गरेको कुरा मैले रिपोर्टर्स क्लवमा नलेखिनु भनेको थिएँ । तर पत्रकारले लेखिदिए । पत्रकारहरुले सामान्य कुरालाई सनसनी बनाइदिन्छन् । हेडलाईन यसरी राखिदिन्छन् कि त्यसले सूचना भन्दा पनि ‘र्युमर क्रेट’ गरिदिन्छ । यो तपाईहरुको पाठक तान्ने कला पनि होला । यसमा पनि धेरै गुनासो छैन ।
सुशील कोइरालाको अवस्था र आममानिसको बुझाइमा किन यति अन्तर आयो त ?
बुझाईमा गल्ति भएको छैन । शनिबारको भन्दा आइतबारको स्वास्थ्य राम्रो थियो । गगन थापाहरुसँग उहाँको कुराकानी भइरहेको थियो । उहाँले त्यो बेला घरमै मिटिङ पनि डाक्नु भएको थियो । आइतबारको अवस्था सुधारोन्मुख हुने, सोमबार राति गम्भीर हुने भविष्यवाणी गर्ने आधार थिएन । उहाँलाई भर्ना गर्न बेड बुक पनि गरेकै हो । अस्पताल भर्ना गर्ने हद भन्दा अगाडि सुधारका लागि गर्ने काम भएका थिए । उहाँको ब्लडप्रेसरमा पनि सुधार आएको थियो ।
१३ पटक फोन गर्दा पनि नउठ्ने झुर संयन्त्र पो रैछ हैन टिचिङको ?
तपाईले पनि अब मलाई यहि कुरामा घेर्न थाल्नु भयो । अब
नेपाल नै यसरी चलिरहेको छ । त्यो बेला फोन उठाउँने मानिस निदायो कि, बाथरुम गयो कि ? के भयो भगवान जाने । त्यहाँको डाइरेक्टर मेरै साथी हुनुहुन्छ । कसैले भने फोन नउठाउँनेलाई जागिरबाट निकालिदिनु पर्छ । कसैले भने जिम्मेवारलाई कारबाही गर्नु पर्छ । मेरो त कुरा के भने यो देशमा दिउँसो हुने काम त हुँदैन समयमा । त्यो त मध्यरातको कुरा हो । सुधार गर्नुपर्ने कुरा धेरै छन् । एकजनालाई कारबाही गरेर सिस्टम बदलिने पनि होइन । तपाई हाम्रो घरकै फोन त उठ्दैन भने बाँकी के कुरा गर्नु ? १३ पल्टको कुरामा त टिचिङको साथीसँग मेरै डिस्कस भयो । अब छाडिदिनुस यो कुरा के फाइदा अब कोट्याएर ?
भनेपछि सुशील कोइरालाको निधन स्वभाविक कालगतिले भएको हो ?
हो, स्वभाविक रुपमा कालगतिले सुशीलदा बित्नु भएको हो । यसमा कुनै शंका छैन । उहाँमा भएको रोग नै यस्तै झुक्याउँने खालको हो । त्यो कुरा आम जनताले बुझेका छैनन् ।
काठ्माण्डुटुडेबाट साभार
0 comments:
Post a Comment